अब आउने पुस्तालाई गोलमालको वातावरणबाट बचाऔं !

 




अबको पुस्तालाई के चाहिं सिकाउने त ?

बाइबलीय आधारभूत शिक्षा कि विविध साम्प्रादायिक शिक्षाहरू ?


    गुड न्यूज टि भी च्यानलमा प्रसारित सिमियोन रोक्काद्वारा आयोजित कार्यक्रम फेस अपमा केरेलामा जन्मिएर आफ्नो कर्मस्थान नेपाल बनाउनु भएर नेपाली मण्डलीलाई गहिरो रुपमा बुझ्नु भएका एक वरिष्ठ बाइबल शिक्षकले भनेका छन्:

"बाइबलको मूल कुराहरू भन्दा पनि ऐतिहासिक रुपमा विकास भएको मण्डलीको कति प्रक्रियाहरूलाई मण्डलीमा ल्याउने प्रयास भयो । आजको मण्डली एक आधुनिक मण्डली भन्न पर्छ जहाँ येशू संगको व्यक्तिगत सम्बन्ध भन्दा पनि एउटा ख्रीष्टिय समाजको परिवेशमा जान खोज्ने जस्तो भएको छ । विश्वासीहरू र ईश्वर शास्त्रीय अध्ययन गरेका पद्दिताहरू येशू र परमेश्वरको मूल सत्यता भन्दा पनि समय समयमा आएका शिक्षाहरूको पछि लाग्ने भए । उद्धार र परमेश्वर संगको सम्बन्धको निम्ति आवश्यक कुरालाई विचलनमा नल्याइकन अरु कुरालाई जोड्नु स्वाभाविक हो तर आज मूल कुराहरूमा पनि बदलाउ आएको छ ।"[1]

    अबको पुस्तालाई के चाहिं सिकाउने त ? बाइबलीय आधारभूत शिक्षा कि विविध साम्प्रादायिक शिक्षाहरू ? यी दुई प्रश्नहरू आधुनिक नेपाली मण्डलीहरूका लागि चुनौतीपूर्ण प्रश्नहरू हुन् । कृपया मजाक सम्झेर नलिनु होला ! सायद आज साधारण विश्वासमा जिउने किशोर-किशोरी र युवाहरूले भोलि यहि प्रश्न नेपाली मण्डलीहरू माथि तेर्साउन सक्नेछन् ! पश्चिमी राष्ट्रहरूमा छाएको ईश्वर शास्त्रीय गोलमालका विषय वस्तुहरूको सुनामी अब बिस्तारै नेपालमा पनि यसले बेग हान्दैछ ! नेपालमा पनि अब ख्रीष्टको मण्डली भन्दा बरु साम्प्रादायिक मण्डलीहरू निर्माण हुँदै छन् ! विविध विरोधावास शिक्षाहरू, आलोचनात्मक अवलोकन र विश्लेषणहरू, टिका-टिप्पणीहरू, आफै मात्र ठिक र बाकि लाई सिधै अबाइबलिय भन्ने प्रचलन, अध्ययन बिना जसलाई पनि झूटा शिक्षाको दर्जा दिने प्रवृत्ति जस्ता अनेकौं रिति र चालचलन अब स्थापित हुँदै गएको छ ! पश्चिमी जगतको लागि सायद यो नौलो विषय नहुन सक्ला तर हाम्रो सन्दर्भमा यो खतराको सूचक हो ! ठेट बाइबलीय शिक्षा भन्दा बढि आज नेपालमा समेत विविध ईश्वर शास्त्रीय गनथन र विवादहरूमा सबै मण्डलीका विश्वासीहरुले आफ्नो समय बिताउँदै गरेको पाइन्छ ! अब यसमा म आफैलाई पनि राख्न चाहन्छु नत्र आफूलाई पहिला ऐनामा हेर भनेर सायद धेरैले भन्न सक्छन् !

    आजको आधुनिक नेपाली जगतमा पनि अब इसाई मित्रहरू भेटघाट हुँदा सोधिने प्रश्नहरू मध्य "हजुर कुन सम्प्रदायको हुनुहुन्छ ?" ज्यादै प्रचलित प्रश्न हो । यसको कारण कुनै पनि इसाई व्यक्ति आफू जुन खेमाको सदस्य हुन्छ उनको पुरै मन र मस्तिष्क नै त्यहाँको शिक्षाले भरिएको हुन्छ । कुनै पनि सानो भन्दा सानो कुरालाई कसरी बुझ्ने भन्ने कुरा पनि आफू कुन खेमा तथा धारको व्यक्ति हो, त्यसमा भर पर्ने वातावरण आज बनिसकेको छ । झन् ईश्वर शास्त्रीय विविध विषय वस्तुहरूलाई लिने हो भने वर्तमान इसाई जगतमा धेरै खेमाहरू विकसित भइसकेका छन् । मण्डली पिछे विविध शिक्षा र प्रणाली छन्   यति सम्म कि बाइबलको उत्पत्ती देखि प्रकाशको पुस्तक सम्म कै कुरामा पनि अनेकौं खेमाहरू विकसित भइसकेका छन् । कुन कुरा बाइबलीय हो भनेर नै प्रश्न गर्न सक्ने वातावरण आज छैन किनकि बाइबलमा पूर्ण भरोसा राख्ने, गम्भीर रुपमा अध्ययन र विश्लेषण गर्ने विद्वानहरूमा नै निकै भेद देखिन्छ [2]

    कति जना साधारण विश्वासीहरू जसले केवल बाइबल सिक्न र बुझ्न चाहन्छ, उनीहरूले धरी गोलमालको वातावरण देखियो भन्न थालिसके । त्यसो भए अब आउने पुस्तालाई कसरी दोहोर्याउने हो भन्ने कुरा ठूलो चुनौती बन्न पुग्दैछ । यहाँ कुरा केवल सुसमाचार प्रचार, मण्डली स्थापना र वृद्धि अनि सेवाकाई मात्र हैन तर के शिक्षा सिकाउने भनी कुरो नै अब ओझेलको विषय वस्तु बनिसकेको छ ! बाइबलीय आधारभूत सिद्धान्तहरूमा सबै जना एक साथ मिलेर प्रभुको स्तुति, आराधना र महिमामा सहभागी भए तापनि दोश्रो र तेस्रो दर्जाका सिद्धान्तहरू लगायत अनावश्यक विवादास्पद कुराहरूमा चाहिं द्वन्दात्मक परिस्थितिको सृजना हुने देखिन्छ । यस बारे किन मण्डलीहरूले कुनै पनि ध्यानाकर्षण गरिरहेका छैनन् ? हुन त आजभोलि अनेकौं ईश्वर शास्त्रीय पुस्तकहरूबाट थुप्रै ज्ञान प्राप्त गरेकाहरूले दोश्रो र तेश्रो अनि अनावश्यक दर्जाका कतिपय सिद्धान्तहरूलाई समेत उद्धार र ख्रीष्टियन जीवन संग जोड्ने प्रचलन जारी गरिसके !

    हुन पनि यस्तो वातावरण आधुनिक समयमा मात्र सृजिएको होइन तर मण्डली इतिहास देखि नै थियो   इतिहास देखि नै विविध तरिकाले मण्डली विश्वमा फैलिंदै गर्दा खेमा हरू बन्न पुगे, विविध शिक्षा र सिद्धान्तहरू उम्रिन थाले, रिति रिवाजहरू शुरु भए, मण्डली भित्रका विधिहरूमा विविध किसिमले अर्थ लाउन थाले, बाइबलको पूर्ण चित्रलाई विविध रुपले बुझ्ने पद्धति विकास हुँदै आए र परमेश्वर संगको हाम्रो सम्बन्धलाई पनि विविध किसिमले बुझ्ने र व्याख्या गर्ने तरिकाहरू विकास हुँदै गए । आज यसरी धेरै खेमा र उप-खेमाहरू प्रशस्त मात्रामा विश्व भर विकास हुँदै गैरहेको छ । यो त पक्का छ कि आज बिग्रंदै गएको इसाई जगतलाई सुधार्न त सकिएला तर पूर्ण रुपमा निशेष पार्न भने सकिदैन । इसाई जगतलाई एकतामा कायम गर्ने सायद एक मात्र पद्धति नै बाइबलीय आधारभूत सिद्धान्त हो । जुन सुकै खेमा भए तापनि सबैले स्वीकार गर्ने आधारभूत बाइबलीय सिद्धान्त छन् जसलाई प्रेरितीय सार पनि भनिन्छ । तर यस बाहेक अरु ईश्वर शास्त्रीय विषय वस्तुमा इसाई जगतको लागि कुनै आशा भने छैन । कि त ती कुरालाई आधारभूत स्थानमा राख्न दिन भएन कि त विविध इसाई सम्प्रदाय बीच अन्तरक्रिया गराउन आवश्यक छ जसका लागि आज धेरै क्षेत्रहरू छन् । यसबाट सबैले ईश्वर शास्त्रीय विश्वासमा भेद भए तापनि प्रेम साथ एक अर्को संग कुराकानी गर्न, आदर दिन, सहनशिलता निर्माण गर्न, नम्रतामा अन्तरक्रिया गर्न र आफ्नो भन्दा बेग्लै सिद्धान्त पट्टि लागेकाहरूको विचारलाई सम्मान गर्न सबैले सिक्ने छन् [3]           

    अबको पुस्तालाई सायद दोहोर्याउन त्यति सहज नहुन सक्छ किनकि आधुनिक सूचनाको युगमा जसले पनि जहाँबाट पनि अध्ययन गरेर नयाँ कुराहरू सिक्न सक्ने भएका छन् । यद्दपि सबैमा त्यस्तो जोश र चासो नहुन पनि सक्छ । अझै कति विश्वासीहरू आधुनिक भद्रगोल मण्डली युग देखेर झन् चिप्लिन पनि सक्छन् । अबको आउने युग कस्तो हुनेछ त हामीले अन्दाज गर्न सायद नसकौला तर वर्तमान स्थिति माथि नियन्त्रण गर्न सके भविष्यको लागि ठूलो राहत र योगदान पक्का हुनेछ ! अब यसमा समस्त नेपाली मण्डलीहरू एकजुट भएर अघि बढ्न सिक्न पर्छ । अब आउने पुस्तालाई गोलमालको वातावरणबाट बचाऔं !   



[1] के दशांश नदिनु भनेको त परमेश्वरलाई लुट्नु हो ?  पाप गर्नु हो ? Face_up Simiyon with PA Thomas, 2022, accessed July 27, 2022, https://www.youtube.com/watch?v=dYFRZQQuyvI.

[2] Theological Topics: Old Testament and New Testament Articles (English - Nepali), 2nd Edition in this format (January, 2018). (Kishor Offset press (P.) Ltd. Galkopakha, Kathmandu, Nepal: Samdan Publishers, n.d.), 12–14.

[3] “Recommended Book Review: Theological Topics-Old Testament and New Testament Articles,” n.d., accessed July 27, 2022, https://apologeticsimpact.blogspot.com/2022/01/recommended-book-review-theological.html.


A Christian Thinker

Hi, it's me Kevin from Nava Jeevan AG church, Kupondole. I am currently working as a Civil engineer as profession. In church ministry I am engaged as blogger and I have my own personal ministry namely Apologetics Impact Nepal. I'm interested in theological, apologetics and ethical discussion and I love to enroll in guiding others in these fields. You can visit my ministry blog and connect with me via Gmail kvinmdiv@gmail.com or eseekers25@gmail.com!

1 Comments

  1. सारांश:

    अबको पुस्तालाई के सिकाउने त? यो एकदमै सान्दर्भिक एवम् गम्भीर प्रश्न हो । आज नेपाली मण्डली परिवेशमा पनि बाइबलीय आधारभूत शिक्षा भन्दा बढी साम्प्रदायिक शिक्षाहरूलाई औधी नै केन्द्रित पारिएको देखिन्छ । नव विश्वासीहरूलाई आज बाह्य संसारबाट भन्दा बढी आफ्नै मण्डली जगतबाट नकारात्मक प्रभाव पर्न सक्ने स्थिति बन्दै गएको छ । ख्रीष्ट र उहाँको राज्य प्रति समर्पित मण्डली र सेवा भन्दा विविध गन्थनका ईश्वर शास्त्रीय विषयहरूमा आधारित सम्प्रदाय प्रति समर्पित मण्डली, सेवा, तालिम, र कलेजहरू व्यापक खोलिँदै छन् । यति सम्म कि एउटा सम्प्रदायको विश्वासीले अर्कोलाई झूटा भन्ने स्थिति आइसकेको पाइन्छ । आजको यो दु:खद परिस्थिति नव विश्वासीका लागि निकै आपत्तीजनक हुने देखिन्छ । अब त कस्तो शिक्षा सिकाउने भन्ने विषय नै अन्योलको विषय बन्दै गएको छ । मण्डली इतिहास देखि नै शुरु भएको यस परिस्थितिले आज झन विकराल रूप लिँदै छ । कि त मण्डलीहरू बीच अन्तरक्रिया गराउन पर्यो नभए सिद्धान्तमा फरक भए तापनि एक अर्कालाई सम्मान दिन सिकाउन पर्यो । अन्यथा अबको पुस्तालाई हुर्काउन त्यति सहज हुने छैन । गोलमालको वातावरणबाट समय मै जोगाउन आवश्यक छ ।

    ReplyDelete
Previous Post Next Post