(यस लेखको खास कुनै निश्चित शिर्षक भने छैन)
सानै देखि मलाई
संगीत क्षेत्रमा ड्रम वा पर्कशन (Percussion) क्षेत्र असाध्यै मन पर्थ्यो । ड्रममा मेरो विशेष रुचि थियो र सिक्न चाहन्थेँ
। गीतहरू सुन्दा पनि मेरो ध्यान गीतमा बजाइएको ड्रमको बिटमा नै हुने गर्थ्यो ।
विद्यालयमा छँदा संगीतको कक्षा सायद कक्षा ८ देखि मात्र थियो र त्यो पनि धेरै
सिक्ने अवसर खासै पाइएन । यद्यपि विद्यालयमा सिक्नु अघि नै मेरो व्यक्तिगत रुचिले
मलाई निकै चलायो ।
मण्डलीमा होस् वा
बाहिरी क्षेत्र, ड्रम बजाउनेहरू
सित एउटा प्रश्न गर्थेँ कि जसरी गितार, प्यानो आदिमा सा रे ग म, कर्ड्स आदि हुन्छन्, ड्रममा त्यस्तो के हुन्छ होला ? कसरी थाहा पाउने कुन गीतमा कता कसरी बजाउने ? ड्रममा गीतको भाका अनुसार बजाइन्छ भनेर एक जना मिल्ने
साथीले मलाई भन्यो र अन्य ठाउँबाट पनि ड्रमको आफ्नै छुट्टै शुत्र हुन्छ भनी जानेँ
। निकै उत्सुकता जागेर मैले ईन्टरनेट मार्फत खोज गर्न थालेँ । यसरी ड्रमको संसारमा
डुबान मारेँ । ड्रमको टाइमिङ्ग अनुसार बिटहरू र त्यो अभ्यास गर्ने
तरिकाहरू जानेँ पश्चात् मैले आफ्नो जीवनमा ड्रमलाई निकै चासोका साथ सिक्न थालेँ ।
ड्रम किन्न त परै जावोस, एउटा झ्याम्टा (Cymbal) पनि किन्न सकिन्न
। घरमा भएका हरेक सामाग्रीहरु कै प्रयोगबाट मैले आफ्नो अभ्यासलाई जारी नै राखेँ यद्यपि
संगीत क्षेत्रलाई आफ्नो प्रोफेशनको रूपमा स्थापित गर्न चाहिँ सकिन ।
विद्यालय, कलेज र मण्डलीमा पनि बजाउने अवसर पनि पाएँ । आज म त्यति
संगीत क्षेत्रमा संलग्न नभए तापनि संगीत प्रतिको लगाम आज पनि जीवितै छ । प्रभु
प्रति म धन्यवादी छु कि उहाँले मलाई सिक्ने वातावरण र अभ्यास गर्ने धेरै अवसर
दिनुभयो र कति निरुत्साहीका बाबजुद पनि मैले सिक्न सकेँ । एउटा कुरा चाहिँ पक्का
जानेँ कि हामीमा उत्सुकताको मन हुनै पर्दछ । चाहना र संघर्ष अनि नियमित अभ्यास
बिना परिपक्वता हासिल गर्न सकिँदैन । चाहे दैनिक जीवनका पक्ष होस् वा आत्मिकी
जीवनको पक्ष, हामीमा तृष्णा,
उत्सुकता, नियमित अभ्यास र संघर्ष हुनै पर्छ ।
यस बाहेक हामीले
धेरै अरु प्रति भर पर्नु पनि राम्रो होइन । विद्यालयबाट नै सिक्नेछु भनेर सोचेको
भए सायद आज सम्म मैले धेरै जानेको हुन्न थिएँ । सिक्ने कुराहरूमा अरु प्रति पूर्ण
रूपमा भर पर्नु पनि हुँदैन । यसको अर्थ अरुबाट सिक्दै नसिक्नु होस् चाहिँ भनेको
होइन तर आफू आत्मानिर्भर हुन पर्छ भन्न खोजेको हो किनकि सिक्ने कुरो कहिल्यै
सकिँदैन । औपचारिक प्रशिक्षण सिमित मात्राको हुन्छ भने जीवन भर हाम्रो हातमा छ
हामी कत्तिको सिक्दै जान्छौं । संगीत क्षेत्र मात्र होइन तर जुनसुकै क्षेत्रमा यही
शुत्र लागू हुन्छ !
अर्को कुरो हो
चेलापन ! आफूले मात्र जानेर हुन्न तर अरुलाई
कसरी सिकाउने त्यो पनि एक महत्त्वपूर्ण कला हो ! हामीमा भएको शीप आउँदो युगका खाँबाहरूलाई कसरी हस्तान्तरण
गर्ने भनी जान्न पनि जरुरी छ ! तपाईंले सिक्ने क्रममा धेरै अभ्यास र त्रुटि पनि
गर्नुहुन्छ जसबाट तपाईंलाई धेरै कुराको अनुभव एवं हेक्का हुन जान्छ । तपाईं
जुनसुकै पेशामा वा सेवाकाईमा भए पनि अरुलाई तालिम दिनु एउटा महत्त्वपूर्ण योगदान
हो ! येशूले दिनुभएको महान आज्ञामा उहाँले पनि चेलापनलाई फोकस गर्नु भएको पाउँदछौँ
। त्यसैले आफूले जानेका कुरा अरुलाई पनि सिकाउँदै लग्नुमा अझ धेरै आनन्द छ !
साथै, हरेस कहिल्यै नखानू ! एक चोटि नहोला, दुई वा तीन-चार चोटि नहोला तर बारम्बारको परिश्रमले पक्का
प्रतिफल देखाउँछ ! लाखौं पटक हथौड़ाले हाने पछि एउटा ढुङ्गा फुट्यो भने अगाडिका
सबै दनक व्यर्थ कहाँ हुन्छ र हजुर ? चरा चुरुङ्गीहरु पनि त एकै ताली उड्न सिकेका हुँदैनन् ! समय लाग्छ ! ड्रम
सिक्ने बेला साधारण बिटबाट हुँदै जटिल बिट सम्म पुग्दा एउटै बिटलाई एकदमै बिस्तारै
गर्दै धेरै पटक अभ्यास गर्दा गर्दा मात्र पछि छिटो छिटो बजाउन सक्षम हुन्छौं !
खेलकुदमा पनि त त्यस्तै हो !
अन्त्यमा, परिपक्वताले हामीमा घमण्ड होइन तर नम्रता र अरुलाई पनि
सिकाउने तत्परता जन्माउन पर्छ । सदा प्रभुको अगुवाई माग्न पर्छ र उहाँकै
सामर्थ्यमा रहि अभ्यास गर्न सिक्न पर्छ ! हामी प्रभु प्रति धन्यवादी हुन पर्छ जसले
आफ्नै स्वरूपमा हामीलाई सृष्टि गर्नुभयो र सृजनात्मक शक्ति दिनुभयो ! जीवनमा
सेवाकाई होस् वा दैनिकी जीवनका अन्य कामहरु, सदा सिक्ने, सिकाउने र अभ्यास गर्ने कुरामा पूर्ण समर्पणता र दत्तचित्तका साथ लागिरहौँ !
धन्यवाद