प्रभुबाट बोलावट पाइसकेकालाई उहाँले नै तालिम दिनुहुन्छ






प्रभुबाट बोलावट पाइसकेकालाई उहाँले नै तालिम दिनुहुन्छ

 

हाम्रो आफ्नै इच्छा र योजना सायद विफल हुन सक्ला तर उहाँको हुने छैन । उहाँको बोलावट अनुसार हामीलाई कसरी तयार पार्ने हो त्यो उहाँलाई थाहा छ । एक सार्वभौम परमेश्वरले आफ्नो योजना पुरा गर्न हाम्रो जीवनको हरेक पक्षलाई चलाउन सक्नुहुन्छ, हस्तक्षप गर्न सक्नुहुन्छ, विविध प्रावधान मिलाइदिन सक्नुहुन्छ र मार्गहरू पूर्वनिर्धारित गर्न सक्नुहुन्छ । हामीमा कमजोरीहरू भए तापनि उहाँले हामीलाई उहाँको आफ्नो महिमा र राज्यको खातिर खडा गर्न सक्नुहुन्छ । हामीलाई कुन बेला कसरी चलाउन पर्ने हो, त्यो पनि उहाँले नै जान्नुहुन्छ । यो सत्य हो कि उहाँका हरेक कार्यहरू हाम्रो समझले भ्याउन सक्दैनौं । कहिले काहीं त हामीले पत्तै पाउदैनौं कि हाम्रो जीवनकाल भरि उहाँले भरिपूर्ण मात्रामा आफ्नो काम गरिरहनु भएको थियो । हामीलाई दिएको स्व-इच्छा, प्राकृतिक खुबी, भित्री चाहना, रुची, उत्सुकता आदिलाई समेत उहाँले आफ्नो योजना, इच्छा र महिमाका खातिर चलाउन सक्नुहुन्छ

अब यसै प्रसङ्गमा जोड्दै, आज म जसरी ठूल्ठूला जमातको सामु बोल्न सक्ने योग्यको भएको छु यसको विशेष श्रेय पहिलो मेरो विद्यालयको एक जना शिक्षकलाई जाँदछ । मेरो जीवनमा उनलाई चलाउनु भएकोमा म प्रभु प्रति निकै धन्यवादी छु । आज जसरी म जमातको सामु बोल्न सक्ने सक्षम प्रभुले मलाई बनाउनु भयो, यसको कल्पना त मैले कहिल्यै गरेको पनि थिएन । हो, आज पनि म बोल्नमा थोरै हड्बदाउछु तर मेरो लागि मुख्य समस्या सामर्थ्य र निर्धक्कता थियो । सानोतिनो कमजोरीहरू त उहाँले हाम्रो जीवनमा हाम्रै भलाईका खातिर रहन दिनुहुनेछ । हामी अझै सिद्धतामा पुगेका छैनौं र परिपक्वताले हामीलाई अहंकार तिर लैजान पनि सक्छ । त्यसैले अनुशासन, नम्रता र भद्रता हाम्रो जीवनमा कायम गर्न कै खातिर उहाँले हाम्रा सबै कमजोरीलाई हामीबाट कदापि निकाल्नु हुन्न

आज जब मेरो अतीतलाई नियाल्छु, फर्केर मेरो बाल्यकाललाई सम्झन्छु तब म आश्चर्यले भरिन्छु । मैले जानेँ कि प्रभुले बोलावट दिनुभए पश्चात् उहाँले नै सारा मार्ग तयार गर्नुहुनेछ र तालिम दिनुहुनेछ । म सानै देखि जमातको अगाडि बोल्न निकै डराउने व्यक्ति थिएँ तर मेरो शिक्षकले किन होला मेरो कमजोरीलाई मध्यनजर गर्दै मलाई सँधै सल्लाह र हौसला दिनुहुन्थ्यो । बोल्न डराउने, अक्मकाउने र अत्तालिने त अरु पनि साथीहरू थिए । तर उनको विशेष जोड म माथि रहेको पाएँ । उनको योगदानलाई आज सम्म पनि बिर्सन सक्दिन ।

दोश्रो श्रेय मेरै मण्डलीको एक जना दाइलाई जाँदछ जसले सि.बि.एस. जस्तो क्षेत्रमा मलाई दोहोराउनु भयो र म झनै तिखारिएँ । आज मलाई जुन बोलावट दिइएको छ त्यसको निमित्त मेरो जीवनमा मोड नै फेरिन सि.बि. एस. ले ठूलो भूमिका निर्वाह गर्यो । सि.बि.एस. लाई सुबिधा पुर्याउने भारतको केरेलाबाट नेपालमा सेवाकाई गर्न आउनुभएका एक प्रभावकारी बाइबल शिक्षक द्वारा म निकै प्रभावित भएँ । मेरो बोलावटको निश्चयता र मेरो सेवाकाईमा हुन आउने भूमिका बारे उहाँबाट बोध पाएँ । यसरी मेरो जीवनमा केवल बोलावट मात्र हैन तर मार्ग तयार गर्ने काम पनि प्रभु कै हो चाहे यसलाई पूर्वनिर्धारित योजनाको रूपमा तपाईं लिनुहोस या उहाँको प्रावधान ।

जीवनमा बोलावट पाए पश्चात् हाम्रो सानो दिमागले यो काम म कसरी गरूँ भनेर अतालिनु स्वभाविक हो तर प्रभुको कार्यलाई हाम्रो सानो दिमागको कोठामा सिमित पार्न सकिँदैन । हामी आफ्नो स्व-इच्छाले भाग्न पनि सकौंला तर प्रभुले हाम्रा हरेक पक्ष जान्नुहुन्छ र हाम्रा सामर्थ्य वा कमजोरीलाई समेत उहाँको राज्यमा एक महान कामको लागि उपयोगी हुन प्रयोग गर्न सक्नुहुन्छ । यस्तो त बाइबलमा प्रशस्त उदाहारण हामीले देख्न सक्छौं । प्रभु यदि सृष्टिकर्ता हुन् भने निर्वाहक (Sustainer) र पालनपोषण (Nourishment) गर्ने पनि उहाँ नै हुन् । हामीलाई हाम्रो बोलावट अनुसार कसरी चलाउने उहाँ जान्नु हुन्छ । हाम्रो कमजोरी र नैतिक भ्रष्टतालाई समेत उहाँले प्रयोग गर्न सक्नुहुन्छ । हाम्रो काम केवल उहाँ सित सहकार्यको जीवन हो । हामीले आफैलाई उहाँको हातमा अर्पण गर्न सक्नपर्छ र उहाँ प्रति विश्वस्त हुन सिक्न पर्छ ।

एक पटक तपाईंले आफ्नो जीवन प्रभुमा सुम्पिदिनु भए पश्चात अब उप्रान्त जीवनलाई व्यवस्थापन गर्ने तपाईं आफैं नभएर प्रभु स्वयम् बन्नुहुनेछ । हामीलाई कुन स्थानमा राख्ने हो, कुन समयमा सही तरिकाले चलाउने हो, कसरी हामीलाई खटाउने हो र कसरी अनुशासनमा पनि राख्ने हो त्यो उहाँले जिम्मा लिनुहुन्छ । हाम्रो बोलावटको जीवन कुनै धर्म-कर्म, रिति-रिवाज आदिको जीवन होइन तर एउटा ठूलो जिम्मेवारी उठाउने जीवन हो, प्रभु माथि जीवन सुम्पिदिने निर्णयको जीवन हो, एउटा सेवकको जीवन हो, स्वार्थ त्यागको जीवन हो र अन्तिम स्वास सम्म येशूलाई पछ्याउने जीवन हो, उहाँ माथि भरोसामय हुने जीवन हो । बोलावट पाइसके पछि अब उहाँले नै हाम्रो जीवनलाई चलाउनुहुनेछ । हामीलाई कसरी तयार पार्ने, कसरी तालिम दिने र कसरी सम्हाल्ने त्यो उहाँको सरोकारको विषय हो भने हाम्रो तर्फबाट मन्जुरीको जीवन हो, समर्पणताको जीवन हो, उहाँ सित संगति गर्ने जीवन हो, संघर्षलाई अवसरको दृष्टिकोणले हेर्ने जीवन हो । 

आजको युगको व्यस्तता बाबजुत पनि एक पटक तपाईंले आफैंलाई नियाल्ने समय निकाल्नुहोस । आफ्नो बोलावट महसुस गर्ने कोसिस गर्नुहोस । कुन क्षेत्रमा उहाँले तपाईंलाई बोलाउंदै हुनुहुन्छ त्यो कुराको निश्चयता लिनुहोस् । तब तपाईंले जान्नुहुनेछ कि उहाँले नै सबै मार्गहरूलाई थाहै नपाई चलाउनु हुने रहेछ र तपाईंलाई तयार पार्दै लैजानु भएको रहेछ ।

 

 

God chooses what we go through; we choose how we go through it.”

John C. Maxwell 

  

A Christian Thinker

Hi, it's me Kevin from Nava Jeevan AG church, Kupondole. I am currently working as a Civil engineer as profession. In church ministry I am engaged as blogger and I have my own personal ministry namely Apologetics Impact Nepal. I'm interested in theological, apologetics and ethical discussion and I love to enroll in guiding others in these fields. You can visit my ministry blog and connect with me via Gmail kvinmdiv@gmail.com or eseekers25@gmail.com!

1 Comments

Previous Post Next Post