आराधना संगीत ख्रीष्ट केन्द्रित हुन पर्छ, संगीत केन्द्रित होइन ???

 



ख्रीष्ट केन्द्रित आराधना आफैंमा युनिभर्सल सेट हो, सब-सेट होइन !

व्यवस्थित संगीत आफैंमा पनि ख्रीष्ट केन्द्रित नै हो !


आधुनिक ख्रीष्टियान विचार अनुसार धेरै पल्ट मैले सुनेको छु कि आराधना संगीत ख्रीष्ट केन्द्रित हुन पर्छ, संगीत केन्द्रित होइन । कतिपय बाइबल कलेजहरुमा पनि यस्तो शिक्षा निकै फस्टाएको पाएँ । तर इमानदारीका साथ भन्छु कि उक्त विचारमा मैले निकै खोट पाएँ । यो विचार भ्रामक (misleading) छ ।

ख्रीष्ट केन्द्रित आराधना भन्नु नै केवल ख्रीष्टमा मात्र केन्द्रित नभएर एकदमै व्यवस्थित आराधना पनि हो । परमेश्वरले सृष्टि गर्नु भएको विश्वलाई मात्रै हेर्नुस् कि कति व्यवस्थित छ ![1] ब्रह्माण्डमा रहेका हरेक तत्त्वहरू पूर्ण व्यवस्थित छन् ![2] हाम्रो परमेश्वर व्यवस्थापनका परमेश्वर हुन् (मोशाका पंचग्रंथ-Pentateuch)। उहाँलाई गोलमाल होइन तर पूर्ण प्रणाली युक्ति र व्यवस्थापन आराधना मन पर्छ (१ कोरिन्थी १४ : ३३)

संगीतमा भएका हरेक कुरा जस्तै ध्वनि, तरङ्ग, नोट्स, अनुपात, बिट, टाइमिङ्ग, लय, राग, इत्यादि परमेश्वरले नै स्थापना गर्नुभएको हो । यी सबै कुराहरूलाई व्यवस्थित ढङ्गले परिचालन गरेर उहाँको महिमा गर्न सिक्न पर्छ । जसरी प्रार्थना, मण्डली अनुशासन, बाइबल अध्ययन र सुसमाचार मजाकको कुरो होइन त्यस्तै गरी संगीत पनि मजाकको कुरो हुँदै होइन ! पवित्र शास्त्रमा समेत संगीतले परमेश्वरको महिमा गर भनेर कवितात्मक पुस्तकहरूमा हामी पाउँदछौँ (. सं. १५०: ३-५, ९८:४-६, १४९:३, ७१:२२ इत्यादि)। हो, हाम्रो नियत, हाम्रो हृदय, उहाँ सित हाम्रो सम्बन्ध बढी महत्वपूर्ण छ ! तर अहिलेको प्रसङ्ग यस दायरा भित्र रहेर नै मैले भन्दै छु !

तपाईं आफैं सोच्नु होस् कि यदि गितार, प्यानो/किबोर्ड र ड्रम बीच तालमेल मिलेको छैन भने त्यसले के परमेश्वरको महिमा गर्ला र ? हो, हामी परिपक्व छैनौँ र गल्ती हुन्छ अनि हाम्रो हृदय उहाँ प्रति केन्द्रित छ ! तर यदि हामीले आराधनाका संगीत द्वारा उहाँलाई उचाल्ने हो भने संगीत पनि गम्भीरतापूर्वक हामीले बजाएर उहाँको महिमा गर्न पर्दछ । सानोतिनो गल्ती हुनु त मानवीय स्वभाव नै हो तर गम्भीर हुनु, प्रयत्न गर्नु, व्यवस्थित संगीतले उहाँको महिमा गर्नु बेग्लै पक्ष हो !

मण्डलीको मुख्य संगती होस् वा घरेलु संगती, हामीले संगीतलाई प्रभुको महिमाको खातिर अझै व्यवस्थित ढंगले सिक्न जरुरी छ ! यदि उहाँले त विश्व हाम्रो जीविकाको लागि व्यवस्थित बनाउनु भयो भने हामीले चाहिँ के उहाँको खातिर व्यवस्थित आराधना नगर्ने र ? आराधना गर्नेहरुले चाहिँ एलबमहरु निकाल्दा व्यवस्थित संगीतका साथ बनाउने रे, अनि अर्को ठाउँमा चाहिँ संगीत मूल्यहीन जस्तो गरि संगीत केन्द्रित आराधना हुनु हुन्न जस्तो शिक्षा दिने कहाँ सम्मको दोग्लापन्ती हो ?

संगीत कसरी बजाउने, कति जोडले बजाउने, कुन तालमा बजाउने, कतिको अन्तरालमा बजाउने, कति ढिलो चाँडो बजाउने इत्यादि कुराहरू जान्न अत्यावश्यक छ ! गितार ६/८ टाइमिङ्गमा र ड्रमलाई ४/४ मा बजाएर हेर्नुस् त कस्तो सुनिन्छ ? ड्रम एकदमै चाँडो र बाकिँ एकदम ढिलोमा कस्तो सुनिन्छ ? अनावश्यक बिटहरु थपेर कानै खाने किसिमले ड्रम लगायत अरु बाजा बजाउँदा दिमागमा कस्तो असर पर्दछ ? यी सबै कुरोलाई मध्य नजर राख्नु पनि ख्रीष्ट केन्द्रीय आराधना नै हो ! किनकि प्रभुलाई व्यवस्थित आराधना मन पर्छ ! यदि हाम्रो नियत ठिक छ, हृदय प्रभु केन्द्रित छ र उहाँ प्रति लगाव छ तर संगीतलाई भने बेवास्ता गरिरहेको छौँ भने त्यो इमान्दारीको आराधना नभएर खेलाँची, लापरवाही र हेलचक्राईको आराधना हो ! किनकि प्रभु केन्द्रित आराधना हुनुपर्छ भन्नेहरूले संगीतको गम्भीरतालाई पनि बुझेको हुन पर्छ ! ख्रीष्टिय जीवन ठट्टाको जीवन शैली हो ? बरु सिकेको छैन भने समय के नै पो ढिलो छ र ? सिक्दै जाने र अभ्यास गर्दै जाने !

भोकलिस्टले आफ्नो आवाज, सुर र राग द्वारा प्रभुलाई महिमा दिउन, अभ्यास तपाईंको भए तापनि गाउने वरदानको श्रेय प्रभुलाई जान्छ ! ड्रम बजाउनेले हरेक बिट र ध्वनि विविधता द्वारा प्रभुलाई महिमा दिउन ! ड्रम पछाडीको एकौस्टिक विज्ञानको सिद्धान्त पनि प्रभु कै देन हो ! तपाईं त केवल आफ्नो अभ्यास, क्षमता र शीपलाई प्रभुको महिमाको खातिर उपयोग गर्ने कर्ता मात्र हुनुहुन्छ ! गितार लगायत किबोर्ड अनि अरु सबै बाजामा पनि यहि कुरो छ ! प्रभुले दिनुभएको वरदान, प्रणाली र प्राकृतिक नियम र सिद्धान्त कै उपयोग गरेर उहाँलाई महिमित तुल्याउनु होस् !

तसर्थ, शुरुको वाक्यांश के को आधारमा अचेल निष्कर्षमा ल्याइँदै छ मैले बुझ्न सकिन तर ख्रीष्ट केन्द्रित हुनु भनेको केवल भजन र कोरस मात्र ख्रीष्ट केन्द्रित र सठिक ईश्वर शास्त्रीय सार कुँदिएको मात्र नभएर व्यवस्थित संगीत आफैंमा पनि ख्रीष्ट केन्द्रित नै हो ! यो हेलचक्राई र ठट्टा वा क्षणिक मजाको विषय होइन ! अनुशासनको विषय हो ! यदि हामी साँच्चै नै उहाँको महिमा गर्न चाहन्छौं भने गम्भीर हुन पनि सिक्न पर्छ ! ख्रीष्ट केन्द्रित आराधना आफैंमा युनिभर्सल सेट हो, सब-सेट होइन !

धन्यवाद 



[1] “Why the Universe Is the Way It Is | Hugh Ross | Download,” accessed June 26, 2022, https://asia1lib.vip/book/2927499/739162.

[2] “What Does the Anthropic Principle Demonstrate?,” CompellingTruth.Org, accessed June 26, 2022, https://www.compellingtruth.org/anthropic-principle.html.


A Christian Thinker

Hi, it's me Kevin from Nava Jeevan AG church, Kupondole. I am currently working as a Civil engineer as profession. In church ministry I am engaged as blogger and I have my own personal ministry namely Apologetics Impact Nepal. I'm interested in theological, apologetics and ethical discussion and I love to enroll in guiding others in these fields. You can visit my ministry blog and connect with me via Gmail kvinmdiv@gmail.com or eseekers25@gmail.com!

1 Comments

  1. सारांश:

    आराधना ख्रीष्ट केन्द्रित हुन पर्छ, संगीत केन्द्रित होइन भन्ने शिक्षा आजभोलि निकै प्रचलितमा आएको देखिन्छ । तर यो शिक्षा निकै भ्रामक छ । ख्रीष्ट केन्द्रित आराधना भन्नु नै वास्तवमा एक व्यवस्थित र अनुशासित आराधना हो । संगीत आराधनाको एक सानो भाग मात्रै भए तापनि यो आफैंमा प्रभुको देन हो, प्रावधान हो, कला हो र सीप हो जस द्वारा हामीले उहाँको महिमा गर्छौं । यसैले संगीत विषय अध्ययन गर्नेहरूलाई थाहा छ कि संगीतको बनावट र सिद्धान्त कति जटिल छ । यो आफैंमा एक व्यवस्थित ध्वनि हो नत्रता हल्ला मात्रै रहन्छ । जसरी बाइबल अध्ययन, प्रार्थना र सङ्गती ठट्टाको विषय होइन, संगीत पनि मजाकको विषय होइन । प्रभुको महिमा सुव्यवस्थित संगीतबाट होस् किनकि यो उहाँकै देन हो । यो ख्रीष्ट केन्द्रित आराधना भित्र नै पर्छ ! यसले उहाँ प्रति तपाइँको सरोकार, मान र इज्जत देखाउँछ । तसर्थ, संगीतलाई हल्का विषयको रूपमा नलिनू । यसबाट प्रभुको महिमा होस् । यो पनि ख्रीष्ट केन्द्रित आराधनाको एक अभिन्न अङ्ग हो !

    ReplyDelete
Previous Post Next Post