सुसमाचार कसरी सुनाउने भनेर पनि सिकाउनु होस्
हरेक मण्डलीले केवल सुसमाचारको आवश्यकतालाई जोड दिँदै सुसमाचार सुनाउन अपील
गरेको हामी पाउँछौं । सुसमाचारको प्रचार (मत्ती २८:१९-२०) मात्र हैन तर प्रतिरक्षा
(१ पत्रुस ३:१५-१६, यहूदा ३, फिलिप्पी १:१६) गर्नलाई पनि हामीलाई ठूलो जिम्मेवारी दिइएको छ ! सुसमाचार
सुनाउनु एउटा आवश्यकता मात्रै हैन तर बाध्यता पनि हो (१ कोरिन्थी ९:१६) ! तर आज मण्डली जगतले केवल सुसमाचार सुनाउने कुरामा मात्रै
जोड दिएर कसरी सुनाउने भन्ने विषयमा खासै ख्याल गरेको पाइँदैन ।
सुसमाचार त केवल एउटै छ जसमा केही चिनी, नुन, चिया पत्ती आदि मिसाउन पनि मनाही गरिएको छ । मानिसलाई कानमा आनन्द दिने खालको
जोश दिने प्रवचन (Motivational speech) जस्तो यो सुसमाचार कदापि होइन । अब तपाईंको प्रश्न: के सुसमाचार आनन्दको
समाचार होइन त ? मेरो प्रतिक्रिया: हो हजुर ! तर यहाँ मानिस जातीले संसारिक दिमागले सोचेको र आफ्नो स्वार्थमा चाहेको
जस्तो आनन्दको प्रतिज्ञा सुसमाचारले दिँदैन तर मानव जाती वास्तविक रूपमा चाहिने
आनन्दको सुसमाचार भने यसले दिन्छ । सुसमाचारले धनको, सु-स्वास्थ्यको, सुखविलासिता जीवन आदिको प्रतिज्ञा कदापि दिँदैन ! खास यस्तो सुसमाचार नै छैन !
फेरि तपाईंको प्रश्न: तर सुसमाचारले विश्वमा धेरै विकास र परिवर्तन ल्याएको
पनि छ त ! मेरो प्रतिक्रिया: सुसमाचारले परिवर्तन
निश्चय नै गराउँछ तर यो मानिसको हृदय परिवर्तनको फल हो । मानिसलाई आफ्नो परिवार,
समाज र देश प्रति जिम्मेवारी हुन लगाउँछ
। यसैका कारण त पहिला मिसेनरीहरूले शिक्षा, स्वास्थ्य, लगायत धेरै क्षेत्रमा विकास ल्याउन सके ! तर सुसमाचार भनेको विकासका लागि हो,
समृद्धिका लागि हो, स्वस्थ जीवनका लागि हो भनेर कदापि प्रचार गर्नु हुँदैन !
सबै इसाईहरूले यसरी जिम्मेवार भएर पनि त काम गरेका छैनन् त ! कत्तिपय त हाम्रो गन्तव्य स्वर्ग हो भनेर संसारलाई वास्ता
सम्म गर्न छोडेका हुन्छन् ! यस कुरामा होस पुर्याऔँ !!
अब हाम्रो मुख्य ध्यानाकर्षणमा प्रवेश गरौँ ! सुसमाचार वास्तवमा हामी सबैको
खाँचो हो जसले जात, धनी, गरीब, कालो, गोरो, पुरुष, स्त्री, परिपक्व, शारीरिक अपाङ्गता आदि केही हेर्दैन । यसले केवल मुक्तिदाता
येशूलाई मानव जाती माझ चिनाउने काम गर्दछ । यसले मानव जातिलाई उद्धारमा लैजाने काम
गर्दछ । यो समस्त जगतमा छर्ने जिम्मेवारी हामी सबैलाई दिइएको छ ।
तर समस्या यो छ कि हाम्रो संसारमा अनेकौं दृष्टिकोणहरू छन्, अनेकौं धर्म र मान्यतामा चल्ने समाजहरू छन् र अनेकौं
दार्शनिक विचारधारा छन् । हामी सित भएको सुसमाचार एउटै मात्र छ । अब त्यही
सुसमाचारको बिजलाई विविधतामा रहिआएका थुप्रै समाजमा छर्न आवश्यक छ । जसरी हाम्रो
दैनिक जीवनमा व्यवस्थापन अध्ययन गर्नेको भाषा विज्ञान अध्ययन गर्नेले सायद नबुझ्ला,
विज्ञानको विद्यार्थीको भाषा कानून पढ्नेले
सायद नबुझ्ला वा कानून पढ्नेले साहित्य पढ्नेको भाषा सायद नबुझ्ला त्यसरी नै हामी
सित भएको सुसमाचार सबैले बुझ्छन् भन्ने छैन ।
हाम्रो समाजमा रहेका धर्महरूको आफ्नै पहिचान र सिद्धांत छ । सुसमाचारको उहि
सारलाई यी धर्म मान्नेहरूले बुझ्ने शैलीमा सुनाउनु पर्छ । येशू मशीह हुन्, उहाँ हाम्रो पापको लागि मर्नु भयो र बौरी उठ्नु भयो त
ऐतिहासिक घटना हुन् र सुसमाचारका खम्बाहरू हुन् । तर यी वाक्यांश र घटनाहरू के सबैले
बुझ्लान र ? अनि के सुसमाचार भनेको त्यतिमा नै सिमित
हो र ? सुसमाचार खास एकदमै गहिरो छ जसले संसारका
हरेक धर्म र विश्व दृष्टिकोणका माटोमा प्रवेश गर्न सक्छ । भारतका एक महान मिसिनरी
साधु सुन्दर सिंहले पनि यही सुझाब दिएका थिए कि जीवनको जल हाम्रो आफ्नै कपमा दिनू
पश्चिमी कपमा होइन ।
हामी सित भएको सुसमाचारलाई अब कसरी विविध विश्व दृष्टिकोण बोकेका मानिसलाई
सुनाउने र बुझाउने त ? कि यो पनि परमेश्वरको नै काम हो, उहाँले नै हृदय खोलिदिनु हुन्छ ताकी सुसमाचार ग्रहण गर्न सकोस् भन्ने होकि ? त्यसो भए सुसमाचार इन्कार गर्नेको हृदय के परमेश्वरले नै
जानीजानी नखोल्दिनुभएको हो त ? प्रेरित पावल आफैंले कसरी सुसमाचार सुनाएका छन् त्यसमा केही ध्यान दिनुहोस् ।
येशूले पनि कसरी सुनाउनु भयो ? मानिसहरूको बुझाइले टिप्न सक्ने शैलीमा सुसमाचार प्रदान गरिएको थियो । त्यस
पछि निर्णयको घडी श्रोताहरूको हातमा नै छ ।
आज मण्डलीहरूले सुसमाचार कसरी सुनाउने भन्ने विषयमा शिक्षा निकै कम दिएको
पाइन्छ । शिक्षा कि त अतिवाद तर्फ छ कि त न्यूनवाद तर्फ ! के सुसमाचार कसरी
सुनाउने भन्ने कुरा सिकाउने मण्डलीको जिम्मेवारी हैन र?