जीवनमा सफलताको शिखर देखि विफलको चित्कार सम्म सिक्न पाएँ





जीवनमा सफलताको शिखर देखि विफलको चित्कार सम्म सिक्न पाएँ

 

    हाम्रो जीवन जन्म देखि मृत्यु सम्म परिक्षाले निकै घेरिएको हुन्छ । विद्यालय देखि स्नातकोत्तरका तह सम्म हामीले धेरै परिक्षाको सामना गर्दै आएका हुन्छौं । कहिले सफलता हासिल हुन्छ भने कहिले विफल भएर जीवन निराश भैदिन्छ ।

 

    प्रभुमा जिएको जीवनमा मैले सफलतामा मात्र हैन तर दुख र वेदनामा समेत उहाँमा स्थिर हुन, रमाउन, धैर्यधारण गर्न र संघर्ष अनि आँशु लाई अंगाल्न सिकेँ । विद्यालयको जीवनमा विफल हुनबाट डराउने व्यक्ति र सदा सफलताको शिखरको आशा राख्ने व्यक्ति आज विश्वविद्यालयका चुनौतीपूर्ण वातावरणलाई पार गर्दै वर्तमान समय सम्म आइपुग्दा असफलतालाई समेत सहन, अंगाल्न सिकेँ र असफलतामा पिरोलिएकाहरूको कष्ट र पीडा जान्न सकेँ ।

 

    जुन विफल जीवन आँखा सामु अपत्यारिलो किसिमले झल्किरहेको देखेँ, आफैलाई वकालत गर्न कुनै पनि सामर्थ्य नपाएको अनुभव गरेँ । असफलताको जालमा पर्नुको कारण मेरो केहि जवाफ दिने ठाउँ थिएन । मानसिकतामा ठूल्ठूला वेदना र तनाव झेल्दै आएँ र पीडा पोखाउने कुनै ठाउँ देखिनँ । मित्रहरू सफलताको शिखरमा पुगेको देख्दा आफूले कता बाटो बिराएछ जस्तो लाग्थ्यो । तनावग्रस्त मानसिकतामा एक्लोपनाको जीवनमा नै रहने बानी बस्दै गयो । प्रभु सामु मात्र मेरा आशु बहन्थ्यो किनकि व्यक्त गर्नलाई कुनै शब्द नै थिएन ।

 

    जीवनमा कतै गलत बाटो पछ्याएँ कि भनेर लाग्दथ्यो तर अब ढोका भित्र पसिसकेपछी भाग्ने कुरो थिएन । संघर्षबाट भएरै जान पर्ने स्थिती आयो । सायद आफ्नो भविष्य बनाउने निर्णयको बेला मेरो स्पष्ट लक्ष थिएन र यसैको कारण आज भौतारिन बाध्य भएँ । तर जीवनको अन्धकारमय पलबाट भएर जाँदा पनि प्रभुमा नै हरदम भरोसा राखेँ । तनावग्रस्त भएको जीवनमा अनेकौं नकारात्मक विचारले सताइसकेको मानसिकतालाई पार गर्दै अग्निमय मार्ग मै हिँड्न कायम गरेँ । प्रभुमा यसरी मैले जीवनका कष्टकर समयमा भरोसा राख्दै अघि बढेँ । आज असफलताको गहिराइ समेतको अनुभव लिन पाएँ । असफलतामा बाँचिरहेका दुखित व्यक्तिहरूको दुखलाई जान्न पाएँ ।

 

    यस्तो परिस्थिति बाबजुद पनि प्रभुलाई मैले धन्यवाद चढाएँ । उहाँले मलाई सम्हाल्नु भयो र लड्न दिनु भएन । हरेस खाने अवस्था सम्ममा पनि मलाई अस्तव्यस्ततामा अल्झिन दिनुभएन । उहाँमा नै धैर्यता जानेँ, संघर्ष जानेँ । यो त पढाईको सन्दर्भ र प्रसङ्गमा थियो तर जीवनका पलपलका परिक्षामा समेत उहाँ हाम्रो लागि सदा सहयोगी रहनुहुनेछ र हामीलाई लड्न दिनुहुनेछैन ।

 

    जीवनमा असफलता सित नडराउनुहोस तर हर समय आफ्नो आशा प्रभु केन्द्रित पार्नुहोस । हाम्रो जीवनका हरेक संघर्षबाट उहाँले हामीलाई उत्तम पाठ सिकाउन सक्नुहुन्छ र त्यो हाम्रो हानीको लागि हैन तर हौसला र उहाँमा अझै बढी भरोसा गर्न, जीवन उहाँमा नै समर्पित गर्न र उहाँको राज्यलाई अंगाल्नका लागि हो ! आज तपाईं हामीले भोगेका दु:खद परिस्थितिबाट सायद प्रभुले अरुको निमित्त एक सहानुभूति जनाउन सक्ने र अरुलाई पनि मद्दत गर्न सक्ने व्यक्ति तपाईं र हामीलाई बनाउन सक्नुहुनेछ !


धन्यवाद 


A Christian Thinker

Hi, it's me Kevin from Nava Jeevan AG church, Kupondole. I am currently working as a Civil engineer as profession. In church ministry I am engaged as blogger and I have my own personal ministry namely Apologetics Impact Nepal. I'm interested in theological, apologetics and ethical discussion and I love to enroll in guiding others in these fields. You can visit my ministry blog and connect with me via Gmail kvinmdiv@gmail.com or eseekers25@gmail.com!

Post a Comment

Previous Post Next Post