"आधुनिक युगका इसाई
जवानहरू फेसबूक, इन्स्टा, टिक टक आदिमा झुन्डिएर रहन्छन् । बाटोमा सुसमाचार प्रचार
गर्दै रहने जवान प्रचारकहरूबाट केही सिकून !"
- वर्तमान समयमा
सार्वजनिक रुपमा प्रभुको सुसमाचार सुनाउदै गरेका एक जना जवान इसाई प्रचारक बारे
एउटा फेसबुक पेजको पोस्टमा माथि उल्लेखित कुरा (भावार्थ व्याख्या गरिएको रुपमा
प्रस्तुत गरिएको छ) पढ्दा साह्रै दुख लाग्यो । यहाँ फेसबुक पेज र जवान प्रचारकको पहिचान खुलाउन चाहन्न
किनकि यस लेखको विषय उहाँहरू हुनुहुन्न । तर दुवै प्रति म धन्यवादी छु र प्रभुले अझै उहाँहरूलाई
सेवाकाईमा मद्दत गर्नुभएको होस् भनी प्रार्थना गर्दछु !
मैले यो कुरा एउटा फसबूक पेजमा लेखिएको पाएँ । ती जवान प्रचारकहरू प्रति म अत्यन्तै धन्यवादी छु जसले राष्ट्रिय तहको सुसमाचार माथि बन्देज लगाइएको कानून भन्दा परमेश्वरको आज्ञालाई प्राथमिकतामा राखेका छन् (प्रेरित ५: २७-२९, यूहन्ना १४:१५) । ती जवान प्रचारकहरूलाई अझै उत्साह दिन आवश्यक छ र प्रार्थनामा निरन्तर सम्झन आवश्यक छ । तर अब बाटोमा प्रचार गर्दै हिँड्ने जवान मित्रहरूको उदाहरण दिँदै अरु जवानहरूलाई सामाजिक संजालमा अल्झिएका व्यक्तिहरूको दर्जा दिनु कत्तिको उचित होला ? यो ठहरै मानहानीको काम हो ! अरुको व्यक्तिगत बोलावट माथि गरिएको बेवास्ता हो !
सबै इसाई मित्रहरूको आ-आफ्नो बोलावट प्रभुबाट पाएका हुन्छन् । सबैले आ-आफ्नै क्षेत्रमा रहेर सेवाकाई गर्दै आएका छन् । कोहि फेसबूक स्टोरीमा बाइबलका वचन हाल्छन, कोहि टिक टकमा वचनहरू पोस्ट गर्छन् (पश्चिमी देशहरूमा त झन् टिक टकमा सेवाकाई नै हुन्छ !), कोहि फिल्म र गीतहरू मार्फत सेवाकाईमा खटिएका हुन्छन् र यसरी सबै आफ्नो बोलावट अनुसारको सेवाकाइमा खटिएका हुन्छन् ! मानौँ मेरो व्यक्तिगत बोलावट रक्षा शास्त्रमा छ भन्दैमा के मेरो मण्डलीका सबै जवान मित्रहरू पनि यसमा खट्न पर्छ र ? बरु मैले अरुबाट सेवा र हेरचाह पाउने र आफूले पनि अरुको सेवा र हेरचाह गर्ने पो हो त (प्रेरित २०:३५, गलाती ५:१३, १ पत्रुस ४:१०) ! एक अर्काको सेवाकाईमा हात बढाउने र उत्साह दिने हो त (फिलिप्पी २:२-४) ! एउटा टिममा के सबैको उहि काम र जिम्मेवारी हुन्छ र (१ कोरिन्थी १२) ? मेरो मित्र क्वायरमा छ भनेर के म चाहिँ किन हुन सकिन भन्दै निराश हुने हो र ? आफूलाई दिइएको वरदान र बोलावट अनुसार नै सेवा पुर्याउने पो हो त ! हामीलाई अरुको खाँचो छ र अरुलाई पनि हाम्रो (एफिसी ४:१-६) !
जवान मित्रहरू केही न केही काम र सेवाकाई मार्फत सुसमाचार फैलाउने र मण्डली निर्माणको काम गर्ने कुरामा लागिरहेको नै हुन्छन् । हो, केहि जवान मित्रहरूलाई समय अवश्य लाग्ला ! विचार अवश्य गर्नुहोस्, सबै जना यदि डाक्टर हुने भए अनि घर, पुल, बाटो, जल विद्धुत आदिका काम सम्हाल्ने इन्जिनियर चाहिँ को बन्ने ? सबैले विज्ञान नै पढ्ने भए, वैज्ञानिक नै बन्ने भए हिसाबकिताब सम्हाल्ने अकाउन्टेन्ट चाहिँ को बन्ने ? कानूनका कुरा सम्हाल्ने वकिल, न्यायधिष लगायत अन्य सम्बन्धित पेशामा चाहिँ को लाग्ने ? संगीत झुन्डमा सबैले गितार नै बजाउने भए अनि ताल, टाइमिङ्ग र भाकालाई सम्हाल्न ड्रम बजाउने चाहिँ को त ? सबैको आफ्नो आफ्नो जिम्मेवारी छ हजुर । कृपया जवान मित्रहरूलाई बाटोमा प्रचार गर्न गएन, देशको कानून देखि डरायो भन्ने जस्तो विश्लेषण गरेर उनीहरूको सेवाकाई र व्यक्तिगत जीवनलाई लज्जास्पद जीवन शैलीको नजरले हेर्ने वातावरण नबनाऔँ !
सेवाकाईमा कसैको प्रचार प्रसार गर्ने जिम्मेवारी दिइएको हुन्छ, कसैको तालिम दिने जिम्मेवारी हुन्छ, कसैको शिक्षण सेवाकाई हुन्छ, कसैको आधुनिक प्रविधि मार्फत विविध सेवाकाई गर्दै आएका नि हुन्छन्, कोहि मोबाइल एप्लिकेशन, वेबसाइट, ब्लग आदिमा संलग्न भएर सेवाकाई गर्दै छन् ! कृपया पर्दा पछाडी के हुँदै छ त्यो जानेर मात्र त्यस्तो टिप्पणी गर्नु होला हजुर ! हामीले बरु एक अर्कालाई उत्साह दिने काम गरौँ र प्रार्थना गरौं अनि एक अर्कालाई लाभ हुन सक्ने किसिमले आफ्नो तर्फबाट पनि जिम्मेवारी निभाऔँ । बाटोमा प्रचार गर्दा थुप्रै आलोचनात्मक प्रतिक्रिया आउन सक्लान् भने अब रक्षा शास्त्रमा लागेकाहरूको जिम्मेवारी ती कुराहरूलाई प्रत्युत्तर दिने हो ! प्रविधिमा लागेकाहरूले शिक्षण सेवाकाई वा अन्य सेवाकाईमा लागेकालाई सहयोग गर्न प्राविधिक सामाग्री बनाइदिने हो ! सुझाव दिन सक्नेहरूले निराशामा परेकाहरूलाई सेवाकाईमा अझै बलियो हुन उत्साह दिने हो ! यसरी पो हो सेवाकाई गर्ने ! हामी एउटा सिङ्गो परिवार हौं चाहे जुनसुकै सम्प्रदायबाट किन नहोस् (एफिसी ४: ४ - ६) !
सेवाकाईमा जहाँ
प्रभुबाट बोलावट हामीले पायौं त्यसैमा लागिपर्ने हो र आफ्ना मित्रहरूलाई पनि साथ
दिने हो ! आफू त एक्लो परियो वा अरुले के के गर्दै छन् तर आफू त्यसमा संलग्न हुन
सकिएन भनेर हतोत्साहित हुने नै हैन नि हजुर ! अनि त्यस्तो पोस्ट सामाजिक संजालमा हाल्नेहरूले पनि निकै सोचेर र होस
पुर्याएर मात्र हाल्ने गरौं ! तपाईंको लागि पनि हाम्रो प्रार्थना छ, प्रभुले आशिष दिऊन !
धन्यवाद