के बाइबलमा तोकिएको नै हुनपर्छ र?

 



    आजको युग साँच्चै नै अनौठोको छ । इसाई समाजमा प्रश्नहरूको घुइँचो देखिन्छ जुन असल कुरो त हो तर बिडम्बना पनि हो । बाइबल हामी इसाईहरूको जिउने आधार हो र अन्तिम अधिकार हो भन्ने ईश्वर शास्त्रीय शिक्षाका कारण आज आम विश्वासीहरू जे कुरामा पनि बाइबलले के भन्छ भनेर प्रश्न सोधपुछ गर्ने भैसकेका छन् । अब यहाँ बिडम्बना के छ होला ?

    बाइबल अनुसार जीवन जिउनु आवश्यकता हो । बाइबल हाम्रो लागि एक सिमाना र कानून सरह हो । तर बाइबललाई के गर्ने र के नगर्ने भन्ने कुराको निर्देशन पुस्तिका सरह सम्झनु भूल हुनेछ । बाइबलमा सबै कुरा सिधै लेखिएको हुँदैन । बाइबल अध्ययन गरेर कतिपय नैतिकताको सवालमा हामीले आफैंले पनि निष्कर्ष निकाल्न सक्न पर्छ । हामीले सोचेको जस्तो हरेक कार्यहरू के गर्न हुने र नहुने भन्ने बारे बाइबलले एक-एक गरि निर्देशन नै दिन थाल्ने हो भने बाइबलले सायद पूरा ब्रह्माण्ड नै ढाक्ने होला कि ? धेरै कुरामा हामी विश्लेषणात्मक पनि हुन आवश्यक छ !

केही उदाहरणहरू लिऔँ:

    अब व्यवहारिक नैतिकताको सवालमा चुरोट, हुक्का, ड्रग आदि जस्ता पदार्थ सेवनको विषयमा बाइबलमा सिधै निर्देशन नहुन सक्छ । तर यसको लागि बाइबलमा उल्लेखित नैतिकताका निर्देशनहरूबाट निष्कर्ष निकाल्न भने सकिन्छ । बाइबलमा नैतिकताका सिद्धान्तहरू दिइएका छन् जसलाई कार्यान्वयन भने गर्न सकिन्छ । जस्तै: रोमी १४:१३-२३, १ कोरिन्थी ६:१२, ८:९, १९-२०, १०:३१, फिलिप्पी ४:८, २ पत्रुस २:१९ इत्यादि । कतिपय अवस्थामा शब्दहरूको अध्ययन गरेर अनि उक्त पदार्थको सेवन पश्चात् हुने प्रभावलाई लिएर पनि विश्लेषण गर्न सकिन्छ जस्तै रक्सी पिउन हुने नहुने विषयमा । एफिसी ५:१८  

    यसैगरी पहिरनको सम्बन्धमा पनि सामाजिक परम्परा अनुसारको आदरणीय हुने गरि लाउने कुरामा झन परमेश्वरको अघि कति आदरणीय हुनपर्छ भन्ने कुरा बाइबलबाट निष्कर्ष निकाल्न सकिन्छ । १ तिमोथी २:९-१० | जस्तै: महिलाले शीर ढाक्ने र पुरुषले टोपी फुकाल्ने सम्बन्धमा होस् या कुनै पनि पहिरनको विषय लिएर त्यस पछाडीको सिद्धान्त, उद्देश्य र नियतलाई विश्लेषण गरि निष्कर्षमा पुग्न सकिन्छ | बाइबलले हरेक प्रकारका पहिरन माथि टिका-टिप्पणी गरेको छैन |

    अब विज्ञान कै सम्बन्धमा पनि बाइबलले सबै कुरो सिधै उल्लेख गरेको छैन । यद्दपी वैज्ञानिक अन्वेषणको लागि भने बाइबलले प्रेरणा दिदछ |[1] जस्तैः ब्रह्माण्डको सृष्टि प्रक्रिया, आयु, भौतिक नियम, रसायनिक नियम, आदि । ब्रह्माण्ड कसरी बन्यो, सूर्य कसरी हुन आयो, यो विश्व कति प्राचीन छ, डी एन ए के हो, क्लोनिंग कस्तो प्रक्रिया हो, आदि जस्ता थुप्रै विषयहरू खास बाइबल सित सरोकार नै राख्दैन | बाइबलीय ईश्वरशास्त्रका एक विद्वान जोन वाल्टन अनुसार त झन परमेश्वरले प्राचीन इस्राएलीहरूलाई उनीहरूको समझ भन्दा बाहिरको विज्ञानको भाषा प्रयोग नै गर्नुभएको छैन |[2] त्यसैले गुरुत्त्वाकर्षण के हो भनेर बाइबललाई हैन भौतिक विज्ञानलाई सोध्ने विषय हो तर यसको लागि धन्यवाद भने प्रभुलाई दिने हो | अय्युब ३८:३३

    यस्तै परोपकारी कार्यहरू जस्तै: अनाथ बालकलाई ग्रहण गर्ने, रक्तदान, सरसफाइ, वृक्षारोपण आदि कार्यहरूको विषयमा बाइबलमा सिधै नलेखिए पनि आफ्नो छिमेकीलाई आफैंलाई जस्तै प्रेम गर, सृष्टिको हेरचाह गर जस्ता आज्ञाहरूबाट हामीले निष्कर्ष निकाल्न सक्छौँ । यी कुराको लागि सिद्धान्तगत आधारहरू पनि प्रयोग गर्न सकिएला जस्तैः मानव जातीलाई परमेश्वरले सृष्टिलाई ख्याल गर्न दिइएको छ, रगतमा जीवन छ, सरसफाइका निति नियमहरू पाउन सकिन्छ, विधवा र अनाथलाई हेरचाह गर्ने कुरा (याकुब १:२७) उल्लेख गरिएको पाइन्छ आदि ।

    बाइबलमा सबै कुरा छर्लङ्ग नै लेखिएको हुन पर्छ भने छैन । साधारण उदाहरणका लागि विद्यालयमा विभिन्न विषयहरूको प्रश्नावलीहरूमा सोधिएका प्रश्नहरू सबैको उत्तर पनि त सम्बन्धित पाठ भित्र सिधै हुबहु पाउन सकिन्न नि त । त्यसैले त विश्लेषण गर्न सोधिएको हुन्छ । त्यस्तै बाइबलले पनि सबै कुरालाई हुबहु उल्लेख गर्दैन । विश्लेशनात्मक अध्ययन आवश्यक छ साथै ईश्वरीय र सामाजिक अनुशासन सहितको स्वतन्त्रता पनि दिइनुपर्छ |

    अब धेरै विषयहरूमा बाइबल आफैं पनि शान्त हुन सक्छ । त्यस्तो बेलामा बाइबलबाट विवाद निम्त्याउनु भन्दा पनि आफ्नो विवेक, खोज अनुसन्धानलाई पनि प्रयोग गर्न पर्ने हुन्छ; निष्कर्ष भन्दा पनि दायरा र सीमाना निर्धारण गर्नेजस्तैः क्रिस्मस मनाउने कि नमनाउने र मनाउने भए कसरी मनाउने | १ कोरिन्थी १०:३१, गलाती १:१०, २:२०, कलस्सी ३:२३, रोमी १२:१-२, २ कोरिन्थी ५:९, इत्यादि 

    कतिपय कुरामा बाइबलले के गर्ने नगर्ने भन्दा पनि कसरी गर्ने भन्ने बारे पनि निर्देशन दिएको हुन्छ । जस्तैः कुन खेल खेल्ने नखेल्ने र खेलकुदका मापदण्ड बारे बाइबलले बताउँदैन तर खेल खेल्दा कसरी अनुशासनमा रहेर खेल्ने बारे निश्चय नै हामीले नैतिक आधार प्रयोग गर्न सक्छौं ।

    तसर्थ, आज हामीले बाइबललाई कस्तो प्रश्न गर्दै छौँ भन्ने विषयमा पनि ख्याल गरौं । बाइबलीय हुनु ठिक हो तर बाइबलवादी हुनु ठिक हैन । यसमा सबै निर्देशनहरू घोटी घोटी दिइएका छैनन् । परमेश्वरले दिनुभएको विवेक र बुद्धि प्रयोग गरेर विश्लेषण मार्फत निष्कर्ष निकाल्ने काम बरु उचित हो ।



[1] HINDU CHRISTIAN DEBATE – Puranas or the Holy Bible: Which Is More Scientific – ISKCON Vs. Sakshi, 2022, accessed June 8, 2022, https://www.youtube.com/watch?v=47tyfAp7Vbw.

[2] John H. Walton, The Lost World of Adam and Eve: Genesis 2-3 and the Human Origins Debate (Downers Grove: IVP Academic, 2015).


A Christian Thinker

Hi, it's me Kevin from Nava Jeevan AG church, Kupondole. I am currently working as a Civil engineer as profession. In church ministry I am engaged as blogger and I have my own personal ministry namely Apologetics Impact Nepal. I'm interested in theological, apologetics and ethical discussion and I love to enroll in guiding others in these fields. You can visit my ministry blog and connect with me via Gmail kvinmdiv@gmail.com or eseekers25@gmail.com!

Post a Comment

Previous Post Next Post