परमेश्वरलाई हामीले आफ्नो जीवनको सिँहासनमा राख्ने हो

 




जीवनको प्राथमिकताको सूचीमा राख्ने कुरा हैन परमेश्वर

 

धेरैजसोले आज आफ्नो जीवनको प्राथमिकताको सूचीमा परमेश्वरलाई १ नम्बरमा राख्न पर्छ भनी विचार गर्छन् र त्यस पछाडिको नियत पनि हुन त ठिकै हो । तर हामीले सोच्नै पर्ने कुरा यो छ कि के परमेश्वरलाई हाम्रो जीवनको प्राथमिकताको सूचीमा राख्नु उचित छ होला ? यसो सुन्दा ठिकै त होनि जस्तो लागे तापनि यो खासमा गलत हो । तर हामीलाई प्याराडक्सिकल विचार जस्तो पनि लाग्न सक्छ ।

परमेश्वरलाई हामीले आफ्नो जीवनको सिँहासनमा राख्ने हो जसको अर्थ हाम्रो जीवनको शासक उहाँलाई बनाउने हो । उहाँकै निगरानीमा, उहाँकै प्रबन्धमा, उहाँकै हेरचाहमा, उहाँकै प्रेममा, उहाँकै बोलावटमा र उहाँकै इच्छामा लीन भएर जिउने जीवन हो हाम्रो (याकुब ४:७, १ पत्रुस ५:७, २ पत्रुस १:३, १ यूहन्ना ४:१९, रोमी ८:२८, मत्ती ६:१०) । उहाँले पाउनु पर्ने स्थान अरु कुनै पनि कुराले लिनु नै मूर्तिपूजा हो ! उहाँको साटो हाम्रो जीवनमा कसैले राज्य गर्छ भने त्यो नै हो हाम्रो जीवनको विफलता । हामीलाई बोलाउनुभए पश्चात् र हाम्रो व्यक्तिगत मन्जुरी पछि अब हाम्रो जीवनलाई कसरी व्यवस्थापनगर्ने हो त्यो उहाँको हात मा छ । हामीले हाम्रो जीवन कसरी जिउँदै छौँ र के कस्ता कुरालाई प्राथमिकताको सूचीमा राख्दै छौँ त्यसको सरोकार उहाँले राख्नु हुन्छ ।

हाम्रो जीवनको प्राथमिकताको सूचीमा रहने उहाँलाई कुनै रहर छैन । तर हाम्रो जीवन माथि राज्य गर्ने उहाँको रहर छ र हामीलाई उहाँको योजना बमोजिम परिचालन गर्ने उहाँको उद्देश्य छ । आफ्नो जीवनमा के कस्ता कुरा प्राथमिकताको सूचीमा राख्ने त्यो कुरो उहाँ सित सल्लाहमा राख्न सिक्न पर्दछ । कतिपयले त सानोतिनो कुरालाई समेत उहाँको अगुवाइ बिना नगर्ने बानी हुन्छ जुन असल कुरो पनि हो । हाम्रो जीवनको जस्तोसुकै परिस्थितिमा पनि उहाँलाई आफ्नो जीवन सुम्पने र उहाँको अगुवाइ खोज्ने पवित्र जन हामी हुन सिक्नु पर्दछ ।

नयाँ नियमको युगमा हाम्रो लागि ठूलो आशिषको कुरो नै परमेश्वर हामी सित रहनआउनु हो र उहाँको राज्यलाई हाम्रो जीवनमा स्वीकार गर्नु हो । मृत्यु पश्चात् मात्र स्वर्ग नरकका कुरा नभएर हाम्रो वर्तमान जीवनमा नै परमेश्वरको राज्यमा जिउनु र उहाँमा स्वर्गीय आनन्दको महसुस गर्नु हामीले सक्न पर्दछ (फिलिप्पी ४:४) । हाम्रो जीवनको मालिक, राजा, शासक र शिक्षकको रूपमा उहाँलाई काम गर्न दिन पर्दछ । उहाँले नै हाम्रो जीवनलाई व्यवस्थापन गर्नु हुनेछ ।

उहाँलाई जीवनका व्यक्तिगत कुराहरूको प्राथमिकताको सूचीमा राख्ने चेष्टा नगर्नुहोस् तर आफ्नो जीवनलाई राज्य गर्न उहाँलाई आफ्नो जीवन सुम्पिदिनु होस् । तपाईंको आफ्नो सौख, इच्छा, निर्णय, छनौट भन्दा पनि उहाँकै इच्छा, निर्णय, छनौटलाई काम गर्न दिनुहोस् । तपाइँको व्यक्तिगत योजनाहरूलाई पनि उहाँकै हातमा समर्पित गर्नुहोस् । उहाँ तपाईंको जीवनको शासक बन्न चाहनुहुन्छ, कुनै सूचीको प्राथमिकताको कुरामा हैन !


A Christian Thinker

Hi, it's me Kevin from Nava Jeevan AG church, Kupondole. I am currently working as a Civil engineer as profession. In church ministry I am engaged as blogger and I have my own personal ministry namely Apologetics Impact Nepal. I'm interested in theological, apologetics and ethical discussion and I love to enroll in guiding others in these fields. You can visit my ministry blog and connect with me via Gmail kvinmdiv@gmail.com or eseekers25@gmail.com!

Post a Comment

Previous Post Next Post