के मण्डली नै दोषी हो त?

 




 

    आजको युग फरक छ, विज्ञान र प्रविधिका कारण आम मानिसहरू पनि हरेक कुरा जान्ने भएका छन् । जहाँ सम्म ख्रीष्टिय विश्वासको सवाल छ, चाहे साँचो होस् वा झूटो होस्, केहि न केहि कुरा आम मानिसहरूले जानिरहेकै हुन्छन् ।

    अनि जहाँ सम्म मण्डलीको सवाल छ, विश्वासीहरूलाई ख्रीष्टियान विश्वासको आधारभूत सिद्धान्तहरू बारे स्पष्टीकरण दिन अत्यावश्यक छ, विशेषगरी हुर्कँदै गरेका किशोर किशोरी र जवानहरूलाई । यद्यपि बाइबल कलेजमा भने गह्रौं शिक्षाहरू दिलाउने तर मण्डलीमा भने केही पनि उपयोगमा नल्याउने प्रचलन प्रायः मण्डलीहरूमा त रिति नै बनिसकेको छ । यहाँ ज्यादा भक्ति र नैतिकताको शिक्षा दिलाइन्छ, जुन आवश्यक पनि हो तर अधुरो पनि हो किनकि बौद्धिक शिक्षामा भने कुनै वास्ता दिइएको पाइँदैन ।

    बाल संगति देखि बालकहरूलाई एकदमै नकारात्मक तवरले शिक्षा दिइएको पाइन्छ जस्तै कि अन्य धर्मको अपमान गर्न सिकाउने, बाइबल बाहेक अन्य कुरामा हातै हाल्न नहुने जसो शिक्षा, परमेश्वरको सत्य वचन हो भन्दै प्रश्न नै सोध्न प्रोत्साहन नदिने वातावरण, प्रश्न सोध्दा पनि परमेश्वरलाई सोध्ने हो वा शंकाको आत्मा सैतान द्वारा आउँछ जस्ता भगन्ते उत्तर दिने प्रचलन, परमेश्वर सँगको सम्बन्ध ठूलो हो भनेर कुरा तार्ने प्रचलन आदि यहाँका प्रायः मण्डलीहरूमा प्रबल देखिन्छ । बाइबल कलेजमा भने निकै शिक्षा हासिल गरेको तर मण्डलीमा चाहिँ कुनै उपयोगमा नल्याइएको अवस्था देखिन्छ । दोष कसको होला त?

    यदि बाल संगति र जवानहरूलाई सोधपुछ गरियो भने उनिहरू सित धेरै प्रश्न तथा जिज्ञासा रहेको पाउन सक्छौं । कतिले सायद मण्डलीमा सोधपुछ गर्न पनि हिम्मत नगरेको हुन सक्लान् । गल्ती यहीँ छ । हामीले हुर्कंदै गरेका बालकहरूलाई आत्मिकी र नैतिक भोजन त निकै खुवाउँछौँ तर बौद्धिक भोजन भने खुवाउँदैनौँ । हाम्रो ध्यान आराधना, भक्ती र जागृति तर्फ भए झैँ बौद्धिक क्षेत्र तर्फ कदापि हुँदैन । दोष कसको होला त ??

    यदि बाइबल अध्ययनमा जोड निकै दिइन्छ भने किन चाहिँ बाइबल पढ्दा त्यहाँ येशूका चेला तथा प्रेरितहरूले बौद्धिक ढंगले पनि आफ्नो विश्वासलाई प्रस्तुत गरेको ध्यान दिएका छैनन् ? बाइबलमा जे छ त्यही मान्ने हो, प्रभुलाई प्रश्न गर्ने हामी को हौं र कसले सिकायो मण्डलीमा यस्तो प्रतिक्रिया दिन ? हामीले के कुरामा किन विश्वास गर्छौं जान्न आवश्यक छैन र ? आजको युग कस्तो छ के हामीलाई थाहा छैन र ? विश्वास जोगाउनु भनेर के बाइबलमा नै सुझाव दिइएको छैन र ? सुसमाचारको प्रतिरक्षा गर भनेर के आज्ञा दिइएको छैन र ? आज अनेकौं झूटा शिक्षा बढिरहेको अवस्थामा समेत कुनै किशोर किशोरी तथा जवानहरूलाई वास्ता भएको देखिन्न । पवित्र आत्मा छँदै छन् नि, केहि फिक्री गर्न पर्दैन । कति सजिलो ? त्यसो त मण्डलीले पनि किन सुसमाचारको काममा जोड दिने त? पवित्र आत्माले नै आफ्नो काम गर्नुहुन्छ नि हैन? अनि यसै मण्डलीबाट विश्वासीहरू हराउँछन होला त? एउटा सलाईको झिल्कोले पनि डढेलो लाग्छ भने झैँ सानो कुराले पनि हाम्रो विश्वासलाई धक्का दिन्छ । यो जिम्मेवारी कसको हो? मण्डलीको हैन र?

    अब फेरि मण्डलीमा बौद्धिक कुराहरू गर्न थाले भने जिस्क्याउने बानी प्रबल छ । यो आफ्नो खुट्टामा आफैंले बन्चरो हानेको जस्तै हो ! कोही जानेको व्यक्तिले केहि जानकारी दिन खोज्दा पनि ठूलाठूला कुरा गर्यो भनेर तार्ने काम गर्छन् र जवानहरूले त झन यहि सिक्छन । बरु अन्य विधाको खिल्ली उडाउनमा प्रखर छन् क्यार ? यहाँ जवानहरूले पनि आज सचेत नभएर पछि दुख पाएको उदाहरण प्रशस्त पाइन्छ नै । उनीहरूलाई केवल सिकाइने कुरा भनेकै यस संसारमा इसाई र अइसाई दुई समूह छन्, हामीले बाइबल मात्र विश्वास गर्न पर्छ र प्रश्नहरू सोध्न हुँदैन बरु येशू फर्कनु भए पछि सबै उत्तरहरू पाउनेछौँ । यो के प्रकारको शिक्षा हो? अनि येशू फर्कनु भए पछि हाम्रो प्राथमिकता वा चाहना हाम्रो प्रश्नहरूको उत्तर होकि येशू? अनि अहिले यस संसारमा रहँदा चाहिँ के गर्ने त? अनि बाइबलमा मात्रै किन विश्वास गर्ने त? अइसाईहरू प्रतिको हाम्रो विश्लेषण खोइ त? जब मण्डली भित्र त प्रचार गरिने वचन प्रति विश्वासीहरूले बाहिर कुनै विश्लेषण तथा नाप जोख नै गर्दैनन् भने अब बौद्धिक पक्षको त कुरै छोडौँ । एउटा सानो झूटो शिक्षा आउँदा र त्यतै लाग्नेहरू प्रशस्त हुन्छन् क्यार! अब यसको दोष कसले लिने? मण्डलीले कि विश्वासीहरूले?

    म आफैले पनि धेरै जवान भाइ बहिनीहरू सित बातचित गर्दा उनीहरू समेत निकै पिरोलिएका अवस्था देखेको छु । हैन दोष चाहिँ कसलाई दिने भन्या क्या? सिकाउन चाहनेहरू नै छन् भने पनि क्याम्प वा कुनै विशेष संगति बाहेक मण्डलीले कुनै ठाउँ नै अरु समयमा दिएकै हुन्न ! अनि गर्न चाहनेहरूले पनि कसरी अगाडी बढोस् भन्या? गल्ती त मण्डलीको नै हो जसले आफ्नो जिम्मेवारी नै पूरा गर्न सकेका छैनन् । बरु पश्चिमी जगतमा भने निकै प्रभावशाली कामहरू देख्न सकिन्छ तर यता केहि वास्ता छैन । यहाँ त इसाई विश्वास एउटा रिति झैँ मानी आएको जस्तो देखिन्छ । न केही चासो कसैले दिन्छन् न दिनेहरू पनि छँदा छँदै मण्डलीले त्यस्तो वातावरण प्रदान गर्छन् । अनि विश्वासीहरू पछि गएर बिथोल्न थाले पछि चाहिँ मण्डलीले चिन्ता लिन थाल्छ, अचम्म !

    यदि मण्डलीको तर्फबाट जिम्मेवारी नै नलिने हो भने बाइबल कलेजमा पनि त साधारण शिक्षा मात्र दिए पुगि हाल्यो त! यदि गहिरो शिक्षा दिने हो भने मण्डलीमा चाहिँ किन उपयोगमा आइरहेको छैन ? कस्तो अजीब प्रवृत्ति हो यो? पछि जवानहरूमा केहि असर देखियो भने यसको जिम्मा मण्डलीले नै लिन पर्छ । केहि गर्न चाहनेहरूलाई पनि कुनै स्थान नदिँदा त्यसको हिसाब किताब पनि पछि मण्डलीले नै दिन पर्नेछ ! आजको मण्डली साँचै कता ध्यान दिँदै लम्कँदै छ ???

***

A Christian Thinker

Hi, it's me Kevin from Nava Jeevan AG church, Kupondole. I am currently working as a Civil engineer as profession. In church ministry I am engaged as blogger and I have my own personal ministry namely Apologetics Impact Nepal. I'm interested in theological, apologetics and ethical discussion and I love to enroll in guiding others in these fields. You can visit my ministry blog and connect with me via Gmail kvinmdiv@gmail.com or eseekers25@gmail.com!

Post a Comment

Previous Post Next Post